
उदाउँदो सूर्यलाई अर्घ अर्पण गर्दै सम्पन्न भयो छठ पूजा ।
सुरेश प्रसाद यादव । कार्तिक ३०
आस्था, श्रद्धा, विश्वास र पवित्रताको महान् पर्व छठ पूजा उदाउँदो सूर्यदेवलाई अर्घ अर्पण गर्दै आज बिहान विधिपूर्वक सम्पन्न भएको छ।
छठ पर्वको अन्तिम दिन आज बिहानैदेखि बाराका विभिन्न स्थानमा रहेका छठ घाटहरूमा श्रद्धालु भक्तजनहरूको उल्लेखनीय उपस्थिति देखिएको थियो। जिल्लाका कलैया, सिस्वा महेशपुर, जीतपुरसिमरा, परवानीपुर, प्रसौनी, फेटा, पचरौता, महागढीमाईलगायत विभिन्न पालिकाका नदी, पोखरी, तलाउ तथा जलाशयहरूलाई आकर्षक रूपमा सजाइएको थियो।
चार दिनसम्म मनाइने छठ पर्वको अन्तिम दिन व्रतालुहरू बिहानैदेखि छठ घाटमा पुगेर उदाउँदो सूर्यको प्रतीक्षामा बसेका थिए। सूर्यदेवको पहिलो किरण देखिएसँगै व्रतालुहरूले जलाशयमा उभिएर फलफूल, ठेकुवा, कसार, नरिवल, उखु तथा विभिन्न पूजासामग्रीले सजाइएको बाँसको सुपली र ढकियामार्फत सूर्यदेवलाई अर्घ अर्पण गरेका थिए।
सन्तानको सुख, परिवारको कल्याण, सुख, शान्ति, समृद्धि तथा मनोकामना पूरा हुने विश्वासका साथ श्रद्धालुहरूले श्रद्धापूर्वक छठी माताको पूजा–आराधना गरेका थिए। छठ घाटहरूमा भक्तिमय गीत, भजन तथा धार्मिक वातावरणले पर्वको रौनक थपेको थियो।

यस वर्ष पनि बाराका विभिन्न छठ घाटहरूमा स्थानीय युवाहरू, सामाजिक संघसंस्था, क्लब तथा स्थानीयवासीहरूको सक्रियतामा घाट सरसफाइ, सजावट, प्रकाश व्यवस्थापन र सुरक्षा लगायतका कार्य गरिएको थियो। छठ पर्वले समाजमा आपसी सद्भाव, एकता, सहकार्य, धार्मिक सहिष्णुता र सामाजिक एकताको सन्देश दिएको छ।
अस्ताउँदो तथा उदाउँदो सूर्यलाई समान श्रद्धाका साथ पूजा गरिने छठ पर्व प्रकृति र मानवबीचको सम्बन्धलाई सम्मान गर्ने मौलिक सांस्कृतिक पर्वका रूपमा स्थापित छ।
उदाउँदो सूर्यलाई अर्घ अर्पण गरेसँगै चार दिनसम्म चलेको छठ पर्व विधिवत् रूपमा सम्पन्न भएको छ। यससँगै व्रतालुहरूले पारण गरी आफ्नो कठोर व्रतलाई उदाउँदो सूर्यलाई अर्घ अर्पण गरेसँगै यस वर्षको छठ पर्व हर्षोल्लास र भक्तिमय वातावरणमा सम्पन्न भएको छ।



