सरकारको आम्दानीभन्दा खर्च १ खर्ब ५६ अर्ब रुपैयाँले धेरै, ८ महिनाको विकास खर्च जम्मा २२ प्रतिशत

०१ चैत, कलैया । लक्ष्यअनुसार राजस्व सङ्कलन हुन नसक्दा सरकारको आम्दानीभन्दा खर्च धेरै भएको छ । सरकारी आय/व्ययको हिसाबकिताब राख्ने महालेखा नियन्त्रकको कार्यालयका अनुसार साउनदेखि फागुनसम्म अर्थात् आठ महिनामा सरकारको आम्दानीभन्दा खर्च डेढ खर्ब रुपैयाँभन्दा बढीले धेरै रहेको छ ।

आठ महिनामा सरकारको आम्दानी छ खर्ब २२ अर्ब ७८ करोड रुपैयाँ रहेकोमा खर्च भने सात खर्ब ७९ अर्ब २३ करोड रुपैयाँ रहेको छ । सरकारको आम्दानीभन्दा खर्च एक खर्ब ५६ अर्ब ४४ करोड रुपैयाँ धेरै रहेको हो ।

चालु आर्थिक वर्षका लागि सरकारले १७ खर्ब ९३ अर्ब ८३ करोड ७३ लाख रुपैयाँको बजेट ल्याएकोमा लक्ष्य पूरा नहुने देखिएपछि अर्धवार्षिक समीक्षामार्फत बजेटलाई संशोधन गरेर १५ खर्ब ४९ अर्ब ९९ करोड रुपैयाँमा झारिएको छ । आठ महिनामा सरकारको आम्दानी लक्ष्यको ४२ दशमलव सात प्रतिशतमात्रै रहेको छ । यो अवधिमा राजस्व सङ्कलनबाट पाँच खर्ब ७५ अर्ब सात करोड रुपैयाँ प्राप्त भएको छ । यस्तै ५५ अर्ब रुपैयाँ वैदेशिक अनुदान जम्मा चार अर्ब ८० करोड र अन्य आम्दानी ३५ अर्ब २० करोड रुपैयाँ रहेको छ ।

खर्चतर्फ लक्ष्यको ४३ दशमलव ४४ प्रतिशत खर्च भएको छ । चालुतर्फ ११ खर्ब ८३ अर्ब रुपैयाँको लक्ष्य रहेकोमा छ खर्ब छ अर्ब ४६ करोड रुपैयाँ अर्थात् ५१ दशमलव छ प्रतिशत, पुँजीगत खर्चतर्फ तीन खर्ब ८० अर्ब तीन करोड रुपैयाँको लक्ष्य रहेकोमा जम्मा ८३ अर्ब ८० करोड अर्थात् २२ दशमलव १५ प्रतिशत र वित्तीय व्यवस्थातर्फ दुई खर्ब ३० अर्ब २१ करोड रुपैयाँको लक्ष्य रहेकोमा ८५ अर्ब १५ करोड रुपैयाँ अर्थात् ३७ दशमलव ४१ प्रतिशतमात्रै खर्च भएको छ । 

Source : Ujyalo Online Khabar

Leave a Reply

Your email address will not be published. Required fields are marked *