फागुनको विकल्प लत्याउँदै देउवाले किन रोजे मंसिरको चुनाव ?

१९ साउन, कलैया । बालुवाटारमा बसिरहेको मन्त्रिपरिषद् बैठकले आगामी मंसिर ४ गते एकै चरणमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन गर्ने निर्णय गरिसकेको छ ।

सत्तारूढ गठबन्धनका शीर्ष नेताहरू प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन फागुनसम्म धकेल्न चाहन्थे । विशेषगरी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको फागुनमै निर्वाचन गराउने चाहना थियो ।

उनीहरू आफ्नै यो चाहनाविपरीत मंसिर ४ मा निर्वाचन गराउन सहमत भएका थिए । सत्तारूढ गठबन्धनका दलहरूबीच विभिन्न छलफलपछि हिजोको बैठकले मंसिर ४ गतेका लागि निर्वाचनको मिति घोषणा गर्ने सहमति जुटाएको थियो  ।

प्रधानमन्त्री देउवाले कुनैपनि हालतमा मंसिरमै निर्वाचन गर्ने र मिति घोषणा गर्न ढिलाई भएको भन्दै गठबन्धन दलका नेतालाई दबाब बढाएपछि यो मितिमा सहमति जुटेको हो ।

‘प्रधानमन्त्रीज्यू असारको अन्तिम साता नै निर्वाचनको मिति घोषणा गर्न चाहनुहुन्थ्यो । चाँडोभन्दा चाँडो निर्वाचनको मिति घोषणा गर्ने र त्यो मिति सकभर कात्तिकको अन्तिम साता राख्ने उहाँको चाहना थियो,’ स्रोतले भन्यो,‘गठबन्धनका अन्य शीर्ष नेताका कारण ढिलाई हुनपुगेको हो ।’ यसमा विशेषगरी नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको भूमिका रहेको स्रोतको दाबी छ ।

‘उहाँहरू आन्तरिक गृहकार्यमा हुनुहुन्थ्यो । प्रधानमन्त्रीज्यूसँग यसकै लागि समय माग्नुभएको थियो । सम्भवतः चुनावी गणित अध्ययन गरेर रणनीति बनाउने कार्यमा जुट्नुभएको थियो,’ स्रोतले भन्यो ।

यसैक्रममा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग प्रधानमन्त्री देउवाले पटक-पटक सम्वाद गरेको पनि स्रोतले बतायो । प्रचण्डबाट ‘केही दिन पर्खन’ भन्ने जवाफ आउने गरेको थियो ।

यसैबीचमा साउनको दोस्रोसाता प्रचण्ड स्वयम्‌ले पनि प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद् बैठकबाट निर्वाचनको मिति घोषणा गर्न लागेको र साथ दिन भनेको बताएका थिए । त्यसो भन्दा आफूले ‘केही दिन पर्खिनुस् न त’ भनेको बताएका थिए । त्यसका लागि आफूले नागरिकता विधेयक र सत्य निरुपण तथा बेपत्ता नागरिक खोजबिनका लागि बनेको विधेयक पारित नगरी चुनाव घोषणा नगर्न सुझाव दिएको प्रचण्डको भनाइ थियो ।

प्रधानमन्त्रीनिकट स्रोतले निर्वाचनको मिति घोषणा गर्न ढिलाई हुनुमा कांग्रेसबाहेकका गठबन्धन दलहरूको चाहना फागुनसम्म निर्वाचन धकेल्ने पनि देखिएको थियो । हिजोको बैठकमा पनि माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा एसका अध्यक्ष नेपाल निर्वाचनको मितिका विषयमा पर्याप्त छलफल गर्ने ‘मूड’ मा थिए ।

तर, प्रधानमन्त्री देउवा बैठकको सुरूवातदेखि नै आक्रामक देखिए । ‘मंसिरभन्दा ढिलो हुन्न । मंसिर-मंसिर नै भन्ने उहाँ (देउवा) को रटान देखियो । त्यसपछि उहाँहरू(प्रचण्ड/माधव)हरूले सहमती दिनुपरेको देखियो,’ बैठकमा सहभागी एक नेताले भने ।

देउवाले यसकारण रोजे मंसिर ४

प्रधानमन्त्री देउवाको आफ्नो व्यक्तिगत चाहना, कांग्रेस पार्टीभित्रकै दबाब, निर्वाचन आयोगको सिफारिस र नागरिक समाजको पनि दबाबकै कारण मंसिर ४ मै निर्वाचन गर्ने तयारी देउवाले थालेको उनीनिकटस्रोत बताउँछ । यही कारण उनले सत्तारूढ गठबन्धनका शीर्ष नेतामाथि दबाब बढाएका हुन् ।

स्रोतका अनुसार सत्ता राजनीतिका चतुर खेलाडी ‘रात रहे अग्राख पलाउँछ’ भनेजस्तै ढिलो गर्दा कांग्रेसलाई नै गाह्रो पर्छ भन्ने विषयमा सचेत देखिन्छन् ।

‘ढिलो गर्दा राजनीतिक शक्ति सन्तुलनमा समस्या आउने, सरकार अलोकप्रिय हुँदैजाँदा आउने समस्यादेखि प्रधानमन्त्री सचेत देखिन्छन,’ स्रोतले भन्यो, ‘यही कारण यथासक्य चाँडो निर्वाचन गरी कांग्रेसलाई बलियो बनाएर ढुक्कले पाँचवर्ष चलाउने उहाँको आफ्नो चाहना देखिन्छ ।’

यस्तै कांग्रेसभित्रै पनि कांग्रेसभित्र प्रतिनिधिसभाको आयु ५ वर्षभित्रै रहेका बेला नै निर्वाचन गर्नुपर्ने दबाब तीब्र छ ।

२०७४ मा मंसिर १० र २१ गतेगरी दुई चरणमा निर्वाचन भएको थियो । त्यसैले सो मितिअगावै निर्वाचन सम्पन्न गर्नुपर्ने दबाब कांग्रेसवृत्तमा छ । संस्थापनइतर पक्षमात्र नभई संस्थापन पक्षकै नेताहरू पनि यस विषयमा देउवामाथि दबाब दिँदै आएका छन् ।

यस्तै गत असार २२ गते निर्वाचन आयोगले मंसिर २ या ५ मध्ये एकदिन निर्वाचनको मिति तोक्न प्रधानमन्त्री देउवालाई भेटेर सिफारिस गरेको थियो । यसरी निर्वाचन आयोगबाट पनि मंसिरमै निर्वाचन गर्नुपर्ने दबाब सिर्जना भएको देउवाले बुझेका छन् ।

यस्तै नागरिक समाज र मिडियामा समेत मंसिरमै चुनाव नभए सरकारविरुद्ध अभियान चल्नसक्ने खतरा देउवाले देखेका छन् । यही कारण पनि उनी मंसिरमै चुनाव गराउन चाहन्छन् ।

देउवा ज्योतिषीमा विश्वास गर्छन भन्नेमा कहीँकतै शंकाको स्थिति छैन । केहीदिनअघिमात्रै उनलाई ज्योतिषी परामर्श दिने सुरेशचन्द्र रिजालले मंसिर ४ चुनावको उत्तम साइत रहेको सल्लाह दिएका थिए । यीनै कारण मंसिर ४ नै देउवाले उपयुक्त ठानेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *