
फत्तेपुर र बडहर्वा जोडने पुलको उदघाटन ।
साउन ३०, कलैया । बाराको जितपुर सिमरा उपमहानगरपालिका बडहर्वा र फत्तेपुर जोड्ने बाल गंगा खोलाको पुल उद्घाटन गरिएको छ । बारा क्षेत्र नम्बर ३ का संघिय सांसद रामबाबु कुमार यादवले सो पुलको आज उद्घाटन गर्नु भएको हो ।
पुलको उद्घाटन गर्दै उहाँले सो क्षेत्रका स्थानियलाई आवतजावत गर्न सहज हुने भन्दै अब कठिनाईको सामना गर्न नपर्ने बताउनु भएको छ । उहाँले पुल निर्माण कार्य ९९ प्रतिशत सम्पन्न भईसकेको भन्दै बाँकी रहेको १ प्रतिशत काम पनि भईरहेको बताउनु भएको छ ।
फरक प्रसंगमा उहाँले आउँदो प्रतिनिधि सभा निर्वाचनमा सो क्षेत्रका जनताले आफुलाई जिताए धुलोमुक्त क्षेत्र बनाउने प्रतिबद्धता जनाउनु भएको छ । प्रतिनिधि सभा सदस्य यादवले सो क्षेत्रको ताल, तलैया सौन्दर्यीकरण गर्ने पनि घोषणा गर्नु भएको छ । पुल निर्माण सम्पन्न गर्नका लागि संघिय सांसद यादवले १३ लाख रुपैयाँ दिनुभएको उहाँका स्वकिय सचिव कमलेश मंडलले जानकारी दिनुभएको छ ।
जितपुर सिमरा उपमहानगरपालिकाका मेयर राजन पौडेलको सभाध्यक्षता तथा सोही पालिकाका उपमेयर भोला अधिकारीको विशिष्ट आतिथ्यतामा पुलको उद्घाटन गरिएको हो ।
सो कार्यक्रममा करैयामाई गाउँपालिकाका अध्यक्ष शम्भु प्रसाद यादव, जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर ११ देखि १८ सम्मका वडाध्यक्षहरु, जनता समाजवादी पार्टीका केन्द्रिय सदस्य प्रकाश चौगाई, प्रदेश कमिटी सदस्य सोहन शर्मा, जसपाको राजनितिक समिति सदस्य भरत खड्का, तेज नारायण चौधरीलगायतको सहभागिता रहेको थियो ।


