छठपर्वका लागि कुटान पिसान सुरु

बारा कलैया

सुरेश प्रसाद यादव

बारा सहित तराईमा आजदेखि छठपर्वका लागि कुटान पिसान सुरु भएको छ । छठपर्वमा गहुँ र चामलका विभिन्न पकवान बनाएर चढाउने चलन रहेकाले सोही पकवान पकाउनका लागि तराईमा आजदेखि कुटान पिसान सुरु गरेका छन् ।

तराई मधेसमा गोधन पर्व सम्पन्न भइसकेपछि छठ पूजाका लागि कुटान पिसान सुरु गर्ने परम्परा रहेका कारण हिजो (आइतबार) तराई मधेसमा गोधन पर्व सम्पन्न गर्दै आजदेखि छठपर्वको कुटान पिसान सुरु गरिएको कलैया उपमहानगरपालिका वडा नं. २६ की बर्तालु महिलाउषा देवी यादवले बताइन् ।

छठपर्वका लागि मिथिलाका घरघरमा आज बिहान अरबा चामल र चुनिएको गहुँ धोइपखाली सुकाएर आजैदेखि चामल र गहुँ कुटान पिसान गरी आँटा तयार गरिने कलैया उपमहानगरपालिका वडा नं. २६ की बर्तालु महिला सुमिन्त्रा देवी यादवले बताइन् ।

निकै चोखो र शुद्धताको पर्व मानिएको छठ व्रतका लागि कुटान पिसान गरिने चामल र गहुँ मिथिलाजीहरूको घर, आँगन वा टोल छिमेकमा रहेको ढिकी र जाँतोमा गर्ने परम्परा छ । तर अहिले ढिकी र जाँतो अभाव हुन थालेपछि कतैकतै मिलमा पनि कुटान पिसान गरिन थालेको कलैया उपमहानगरपालिका वडा नं. २६ की बर्तालु महिला सुमती देवीले बताइन् ।

आजका दिन एकाबिहानै मिथिलाजीहरू आ-आफ्ना घरआँगन वा टोल छिमेकमा भएका ढिकी र जाँतोलाई शुद्ध र सफा पानीले धोएर पवित्र बनाएपछि गहुँ र चामल कुट्ने र पछि पुनः गहुँ र चामललाई धोएर सुकाएर पिध्ने गर्दछन् । यसरी कुटान पिसानबाट तयार भएको पिठोले नै छठपर्वमा भगवान् सूर्य र माता छठदेवीको अर्घ्यका लागि ठेकुवा, भुस्वा, खजुरिया, पेरुकियालगायत पकवान तयार गरिने कलैया उपमहानगरपालिका वडा नं. २६ की बर्तालु महिला राजमती देवी साहले बताइन्

छठपर्वमा चामल र गहुँकै पिठोबाटै तयार भएको ठेकुवा र भुस्वा नै प्रमुख प्रसाद रहने गरेका कारण यसलाई निकै शुद्धता र पवित्रताका साथ कुटान पिसान गरी पकवान तयारीसम्मको काम गरिन्छ । आजदेखि सुरु भएको कुटान पिसानका कारण छठबर्ती निकै उत्साहित र व्यस्त देखिएका छन् भने आजैबाट कलैया उपमहानगरपालिकाको आँगनमा छठपर्वको चहलपहल पनि बढेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *